चितवन, १० साउन :
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ । भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत सङ्कलनको काम आजैदेखि सुरु गरिएको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो । फाउण्डेशनले निर्माणका लागि ल्याएको सामानको मुचुल्का तयार गरे लगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइतबारदेखि सरसफाइलगायत काम सुरु हुन्छन् ।”
रङ्गशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता भएको छ ।
विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेशनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेशनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै सङ्घ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताउनुभयो ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













