चितवन, ७ साउन
इच्छाकामना गाउँपालिका वडा नं-६, जलवीरेस्थित मुग्लिन नारायणगढ सडक खण्डमा माइक्रो अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।
कावासोतीबाट काठमाडौँ जाँदै गरेको ग १ ख ९१५५ नम्बरको माइक्रो अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा माइक्रोमा सवार १७ यात्रुमध्ये तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा माइक्रोमा सवार कावासोती नगरपालिका वडा नं-५ बस्ने ६० वर्षीया सन्तुमाया कुमाल, माइक्रोका सहचालक कावासोती नगरपालिका वडा नं-८ बस्ने ३६ वर्षीय घनश्याम न्यौपाने र उदयपुरको गाईघाट नगरपालिका वडा नं-१५ बस्ने १९ वर्षीय जेनिस बस्नेत घाइते भएका छन् । घाइतेमध्ये सहचालक न्यौपानेको अवस्था गम्भीर छ ।
घाइतेहरुको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको र माइक्रो चालक माडी नगरपालिका वडा नं-१ बस्ने ३३ वर्षीय नन्दलाल महतोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













