चितवन साउन ५
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/०८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा दुई लाख ९९ हजार ४१२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार ४२५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्षमा एक लाख ७६ हजार ३१६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । आव २०७९/०८० मा दुई लाख पाँच हजार ६०५ आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए । गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार ४७१ तथा आव २०७९/०८० मा ३७ हजार ९३५ पर्यटक भित्रिएका थिए ।
अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आव २०७९/०८० मा ५५ हजार ८७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए । आव २०७८/०७९ मा एक लाख ९० हजार ४५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिए ।
गत आवमा अघिल्लो आवको तुलनामा तेस्रो मुलुकका पर्यटकको यहाँ आगमन बढेको पाइएको छ । निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको छ । सूचना अधिकारी तिवारीका अनुसार गत आवमा पर्या–पर्यटनबाट रु ३० करोड ५७ लाख राजस्व संकलन भएको छ ।
अघिल्लो आवमा यो रकम २२ करोड ९४ लाख रहेको थियो । आव २०७८/०७९ मा एक लाख ९० हजार ४५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा ११ करोड ४९ लाख ९७ हजार ४१३ राजस्व संकलन भएको थियो ।
यसैगरी, आव २०७७/०७८ मा ९८ हजार ९२८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार ३७६ राजस्व संकलन भएको थियो । आव २०७६/०७७ मा रु १९ करोड ९२ लाख ५५ हजार राजस्व संकलन भएको थियो ।