भरतपुर,असार ३०-
नवलपुरको थुम्सी नजिकै नारायणी नदीमा फेला परेको दुई शव मध्ये एक शव चितवन माडी नगरपालिका–१, भंगता गाउँका २२ बर्षिय विकास परियारको शव रहेको खुलेको छ । विकासका दाई विजय परियारले शव सनाखत गरेका हुन् ।
विकास असार २८ गते काठमाडौंमा एक विवाह समारोहको फोटो खिच्न असार २७ गते राती करीब ११ बजे भरतपुर विशालचोकबाट बस चढेका थिए। उनको साथमा भरतपुर सारदानगर निवासी २५ बर्षका फोटोग्राफर सुदीप बिक समेत रहेका थिए। हाल सुदिप बेपत्ता छन् ।
शनिवार भेटिएका तीन वटै शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। उनका अनुसार दुई शव शनिवारनै आफन्तले बुझेर लगेका छन । बसका बेपत्ता यात्रीमध्ये अहिलेसम्म तीनजनाको शव भेटिएको छ ।
शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए । काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।














