काठमाडाैं, असार २६
चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी)सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुई वटा उजुरी दर्ता भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गोपिचन्द्र दवाडीका अनुसार २०८१ जेठ ११ गतेदेखि असार १४ गतेसम्म ती उजुरी दर्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा परेको एउटा उजुरीको सहमतिसमेत भइसकेको उनले जानकारी दिए ।
आयोगले उजुरी आह्वान गरेपछि परेका उजुरीमाथि छलफल गर्न सहायक प्रमुख जिल्ला अधिकारी खेमानन्द भुसालको संयोजकत्वमा तीन सदस्यीय उजुरी फर्स्यौट संयन्त्र गठन गरिएको छ ।
उनले भने ‘संयन्त्रको बैठक बसेर परेका उजुरीमाथि प्राथमिकताको आधारमा छलफल गरिने छ ।’
छलफलमार्फत आपसी समझदारीबाट समाधान निकालिने उनले बताए ।
विक्रम संवत् २०८० साउनयता विभिन्न समयमा आयोगले उजुरी आह्वान गरेपछि अन्य समयमा ९३ उजुरी दर्ता भएका थिए । गत वर्ष माघ ८ गतेसम्म ती उजुरी परेका हुन् ।
परेका उजुरीमध्ये ८६ वटा जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो ।
प्रहरी कार्यालयमा पठाइएका उजुरीमध्ये ५७ वटा फर्स्यौट हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।