चितवन, १५ असार
चितवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान रोपेका छ्न । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यी कृषक समूह रत्ननगरले संयुक्तरुपमा कार्यक्रम आयोजित गरिएको हो ।
‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ मनाइएको धान दिवसमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह,बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरे, चितवन क्षेत्र नम्बर ३ का सांसद हरि ढकाल, भरतपुर महानगर प्रमुख रेणु दाहाल, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, ठाकुर ढकाल र ईश्वर सापकोटा, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटालगायतको लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकतामा रहेको बताए । “जलवायु परिवर्तनका कारण धानलगायत बालीमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ”, प्रधानमन्त्री दाहालले भने, “जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको छ ।”
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले यान्त्रीकीकरण र आधुनिकीकरणको हिसाबले एकताको भाव झल्कने गरी मन्त्रालयले काम अघि बढाएको बताइन् । कृषि मन्त्रालयको टोली कृषि क्षेत्रको विकासमा अहोरात्र लागिपरेको भन्दै कृषकलाई सम्मान गर्ने गरी मन्त्रालयले काम गरेको मन्त्रि साहको भनाइ थियो ।
मन्त्री साहले भनिन्, “धान रोप्नका लागि आवश्यक पर्ने मल पर्याप्त मात्रामा उपलब्ध गराउन सरकार लागिपरेको छ ।” वितरण प्रणालिमा देखिएको समस्या समाधान गर्दै अघि बढ्ने मन्त्री साहले बताइन् ।