चितवन, असार १४
चितवन जिल्लामा हालसम्म १४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिँदै आइएको छ ।
पूर्वी चितवन र पश्चिम चितवनको माडी क्षेत्रमा धान रोपाइँ भइरहेको कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो सातादेखि रोपाइँ सुरु भएको छ भने पश्चिम क्षेत्रमा असार अन्तिम सातादेखि सुरु हुने गरेको छ ।
धान जोन क्षेत्रमा करिब ८० प्रतिशत सिँचाइको व्यवस्थापन भइसकेको छ । अन्य क्षेत्रमा सिँचाइका लागि बोरिङ जडानको काम भइरहेको जनाउँदै नहरबाट पानी लाग्ने ठाउँमा भने केही ढिला हुने संयोजक घिमिरेले बताउनुभयो । जिल्लामा सञ्चालित धान जोन क्षेत्रमा ५० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा आठ हजार पाँच सय हेक्टर क्षेत्रफल धान जोनका रुपमा विकास गरिएको छ ।














