चितवन, १३ असार
सरकारले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मनाउने भएको छ । बिहीबार २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने जानकारी दिएकाे हाे ।
समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीककरणलाई प्रवर्द्धन गर्ने गरी २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी भएको बताए ।
उनले यो वर्ष जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताए । उनले जलवायु परवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरूको प्रचार गरी तीनको अवलम्बन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनुपर्ने यस वर्षको सन्देश रहेको बताए । उनले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ अवसरमा असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थिति रहने जानकारी दिए ।
उनले २०८१ असार १२ गतेसम्म देशभर ९.८ रोपाइँ भएको बताए । उनले कोशी प्रदेशमा ५.६, मधेश प्रदेशमा २.९,बागमती प्रदेशमा १८.३, गण्डकी प्रदेशमा ८.३, लुम्बिनी प्रदेशमा ८.८, कर्णाली प्रदेशमा २३.९ र सुदूरपश्चिम प्रदेशमा २५.० प्रतिशत खेतमा धान रोपाइँ भएको बताए । उनले अहिलेसम्म कुल धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार ८३६ मध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्र फलमा रोपाइँ भएको पनि बताए ।














