भरतपुर, ६ असार
भरतपुर अस्पतालले सञ्चालन गरेको ब्लड बैंक (रक्तसञ्चार केन्द्र) मा एक महिनाको अवधिमा १८१ युनिट रगत संकलन भएको छ । संकलित रगत मध्ये १६४ युनिट अस्पतालमै खपत भएको छ भने सात युनिट अन्य अस्पतालमा वितरण गरिएको छ ।
ब्लड बैंकका इन्चार्ज विष्णुप्रसाद बाँस्तोलाका अनुसार संकलित रगत मध्ये महिला रक्तदाताबाट ३९ र पुरुष रक्तदाताबाट १४२ युनिट रगत संकलन गरिएको हो । अस्पतालमा सबैभन्दा बढी बी ग्रुपको रगत संकलन र वितरण भएको उहाँले जानकारी दिनुभयो । यस अवधिमा अस्पतालको स्त्री तथा प्रसुती वार्डमा सबैभन्दा बढी रगत खपत भएको उहाँले जानकारी दिनुभयो ।
अस्पताल प्राङ्गणमा र बाहिर समेत रक्तदान कार्यक्रम गरी रगत संकलन गरिएको हो । ती कार्यक्रमहरुमा प्राविधिक सहयोग र खाजाको व्यवस्थापन समेत अस्पतालले गरेको बाँस्तोलाले बताउनुभयो ।
अस्पतालले गत जेठ १ गतेबाट ब्लड बैंक शुभारम्भ गरेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले ठूला अस्पतालहरुको आफ्नै ब्लड बैंक हुनुपर्ने न्यूनतम सेवा मापदण्ड अनुसार ब्लड बैंक सञ्चालन गरिएको बताउनुभयो । उहाँले हाल होल रगत बिरामीलाई दिईदै आएको भन्दै ब्लड बैंकको गुणस्तर र क्षमता बृद्धि गर्दै लैजाने बताउनुभयो । उहाँले भन्नुभयो “होल ब्लडका लागि बिरामी रेडक्रस जानु परेको छैन । आगामी दिनमा सबै प्रकारका रगत पाउने गरी व्यवस्था गर्छाै ।”
(कान्तिपुर हेल्थबाट)