चितवन, २ असार
भरतपुर महानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )को वडा अधिवेशन सम्पन्न भएको छ। गत साल मङ्सिर २८ गते देखि सुरु गरिएको अधिवेशन असार १ गते (हिजो ) सम्पन्न भएको हो ।
भरतपुर महानगरपालिका सभापति सीता ज्ञवालीले महानगरभित्रका सबै वडाहरुमा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो ।
वडा अधिवेशनले भरतपुर महानगरपालिका भित्र रहेका २९ वटा वडामा नेतृत्व चयन गरेको छ । अधिवेशन हुने वडाहरुमा धेरैजसो सर्वसम्वत रुपमा नेतृत्व चयन गरिएको थियो भने कुनैकुनै वडाहरुमा चुनाब भएको थियो ।
रास्वपले एक वडामा एक सभापति, एक उपसभापति, एक सचिव,८ सदस्य चयन गरेको छ । प्रत्येक कमिटीमा युवा र महिला अनिवार्य गरिएको छ । साथै वडाको १०० जना पार्टी सदस्य बराबर २ जना परिषद सदस्य पनि गठन गरिएको छ।
‘२९ वटा वडामा विवादरहित कमिटी गठन भएको छ । पार्टीको संगठनात्मक संरचना बलियो भएको महसुस गरेका छौं,’ सभापति ज्ञवालीले भन्नुभयो। पार्टीमा क्षमतावान शिक्षित र बौद्दिक व्यक्तिहरु पनि जोडिने क्रम जारी छ, सबैसँग सहकार्य गरेर अगाडी बढ्ने छौं। ‘
पार्टीको प्रथम अधिवेशन भएकोले उत्साहका साथ अधिवेशन सम्पन्न भएको सभापति ज्ञवालीले बताउनुभयो ।














