चितवन, असार २
चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा कार्यरत शिक्षकहरुका लागि शनिबार एकदिने हस्तलेखन कार्यशाला सम्पन्न भएको छ ।
अङ्कुरम् एकेडेमीको ‘मेकर्स रुम’मा आयोजित उक्त कार्यशालामा विश्व हस्तलेखन च्याम्पियन अनिल थमनले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । भारतको पञ्जावका थमन हस्तलेखनमा विशेष दख्खल राख्ने व्यक्ति हुन् ।
‘हस्तलेखन सबैभन्दा सहज कौशल जसले आफैलाई अरुसामु व्यक्त गर्न मद्दत गर्दछ, यो आफूलाई अभिव्यक्त गर्ने उत्तम तरिका पनि हो’, प्रशिक्षक थमनले भने । प्रशिक्षक थमनले विद्यालयका शिक्षकहरुलाई पहिले तालिम दिनु आवश्यक छ ताकि उनीहरुले सानैदेखि बालबालिकालई हस्तलेखनको महत्व बुझाउन सकून् । बालबालिका र शिक्षकहरूलाई हस्तलेखनसम्बन्धी सही तरिका र प्रविधिहरु सिकाउन आवश्यक भएको उनले बताए ।
कार्यशालाको पहिलो सत्रमा सहभागी शिक्षकलाई लेखन विधिबारे प्रशिक्षण गराइएको थियो भने दोस्रो सत्रमा प्रतिस्पर्धात्मक अभ्यास गराएको थियो । उक्त प्रतिस्पर्धात्मक अभ्यासबाट तीन जना सहभागी शिक्षकलाई उत्कृष्ट तीन घोषणा गरिएको थियो । शिक्षक/शिक्षिकाहरु क्रमश सुमन शेर्पा लामा, सुमन गुरूङ र ओमराज मैनाली उत्कृष्ट तीनमा परेको कार्यक्रम संयोजक सह–प्राचार्य ओमराज मैनालीले जानकारी दिए ।
विद्यालयका ५४ जना शिक्षकहरुको सहभागिता रहेको सो कार्यशाला निर्देशक नईम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्राचार्य सुमन पौडेलले शुभकामना मन्तव्य राखेका थिए । प्रशिक्षक थमनलाई निर्देशक चौधरी र प्राचार्य पौडेलले संयुक्तरुपमा मायाको चिनो प्रदान गरेका थिए ।