चितवन, जेठ २७
भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको उपाधि भिडन्तका लागि तयार रहेको दुबै टिमले बताएका छन् । आज (आइतबार) सम्पन्न प्रि म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षकले फाइनलका लागि आफूहरु तयार रहेको बताएका हुन् ।
अमर माविका प्रशिक्षक आइतराम गुरुङले आफूहरु नेचुरल खेल खेल्ने बताए । सेमिफाइनलमा अपेक्षित प्रदर्शन नभएको स्मरण गर्दै गुरुङले त्यसलाई फाइनलमा सुधार्ने बताए । उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिने उनको भनाइ थियो ।
कप्तान बसन्त कुमालले प्रतिस्पर्धि टिमलाई कमजोर आँक्ने गल्ति नगर्ने आशय व्यक्त गरे । मेयर कपको उपाधि जितेर ईतिहास रच्ने योजना रहेको उनले बताए । आफ्ना खेलाडीहरु फाइनलका लागि उत्साहित रहेको उनको भनाइ थियो । उनले मेयर कपले खेलाडीहरुलाई राम्रो प्लेटफर्म दिएको भन्दै खुशी व्यक्त गरे । यसबाट धेरै खेलाडीहरु जिल्ला लिग र उमेर समूहको राष्ट्रिय टिम छनौटको बाटो खोल्न सफल हुने विश्वास व्यक्त गरे ।
विश्वप्रकाश माविका प्रशिक्षक सुरज गुरुङले सेमिफाइनलको कमब्याक जितले खेलाडीहरुलाई हौसला मिलेको बताए । महिनाभरी खेलाडीहरुले निकै मेहेनत गरेको भन्दै उपाधि जित्ने उनले विश्वास व्यक्त गरे । उनले अमर माविको अट्याक राम्रो रहेको भन्दै त्यसका लागि आफ्ना डिफेन्डर तयार रहेको बताए ।
यस्तै उनले डिफेन्सिप र काउन्टर अट्याकमा जाने गरी मैदान उत्रिने बताए । खेलाडीहरुले यस अघि काउन्टर अट्याकमा नतिजा निकालेको भन्दै फाइनलमा पनि त्यसलाई निरन्तरता दिने बताए । विपक्षीको खेललाई आफूले राम्रोसँग अध्ययन गरेको उनको भनाइ थियो ।
कप्तान लक्की गायकले विपक्षीलाई कमजोर नआँक्ने तर उपाधि जित्ने रणनितिका साथ मैदान उत्रिने बताए । फाइनलमा आफ्नो शतप्रतिशत दिने उनको भनाइ थियो । उनले मेयर कपले खेलाडीलाई आफ्नो खेल देखाउने राम्रो मौका मिलेको बताए ।
भरतपुर महानगरपालिकाको आयोजना तथा सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी मेयर कप फुटबलको उपाधि भिडन्त भोलि (सोमबार) हुँदैछ । उपाधिका लागि सोमबार अमर मावि र विश्वप्रकाश मावि भिड्नेछन् । खेल दिउँसो ३:३० बजे भरतपुर ७ कृष्णपुरमा हुने सह आयोजक चितवन जिल्ला फुटबल संघले जनाएको छ ।