भरतपुर, २३ जेठ
चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा ‘मेरो जिल्ला: मेरो पुस्तिकामा’ विषयक सामाजिक अध्ययन परियोजना सम्पन्न भएको छ ।
एकदिने परियोजनामा सहभागी विद्यार्थीहरुले चितवनका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको बारेमा परियोजना प्रस्तुत गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जलगायत एतिहासिक उपरदाङगढीको बारेमा समेत परियोजना प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरुद्वारा प्रस्तुत परियोजनामा चितवनको कृषिसहित शैक्षिक, स्वास्थ्य, सांस्कृतिक विविधतालगायतका विषयहरुसमेत समेटिएको थियो ।
विद्यालयकी शिक्षिका सुनिता शर्माले सञ्चालन गरेको कार्यक्रमको संयोजन सह–प्राचार्य ओमराज मैनालीले गरेका थिए भने कार्यक्रममा ११६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।