चितवन, जेठ २२–
चितवनमा फेशन फ्युजन रन वे विथ म्युजिकल इभेन्ट हुने भएको छ । गोल्डेन इमिनेन्ट इन्टरनेशनलको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । गोल्डेन इमिनेन्टले द राइज इभेन्ट, द राइजिङ इभेन्ट र द पोजेटिभ इभेन्ट्ससँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो।
उक्त इभेन्ट आगामी असार ७ गते हुनेछ । त्यसअघि जेठ २४ गते सहभागी मोडलहरुको अभिमुखीकरण हुनेछ । जसमा मोडलहरुलाई कार्यक्रम विभिन्न पक्षका बिषयमा जानकारी गराईने द पोजेटिभ इभेन्ट्सका सिईओ राज रिजाल क्षेत्रीले जानकारी दिए । उनका अनुसार यसका लागि मोडलहरुको आवेदन खुला गरिएको छ । कार्यक्रमका ३० देखि ५० जना महिला तथा पुरुष मोडलहरुले क्याट वाक गर्ने उनले बताए । मोडलिङ क्षेत्रमा सक्रिय चितवनका मोडलहरु कार्यक्रममा सहभागी हुनेछन् ।
यस्तै मोडलिङ ईच्छुक नयाँ अनुहारलाई पनि मौका दिईने द राइज इभेन्ट्सका सिईओ सलिन श्रेष्ठले बताए । उनीहरुलाई १० दिनको तालिम दिएर ग्राण्ड फिनालेका लागि तयार गरिनेछ । फिनाले स्वाद सदन पार्टी प्यालेसमा हुनेछ । उनीहरुलाई क्याट वाकसँगै व्यक्तित्व विकास, क्यामेरा फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित तालिम दिईनेछ । श्रेष्ठले कार्यक्रमको कोरियोग्रागी गर्नेछन् । कार्यक्रमको माध्यमबाट भरतपुर भ्रमण वर्षको प्रवद्र्धन र प्रचारप्रसार पनि गर्ने योजना रहेको उनले सुनाए ।
फिनालेमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ शोज टपरको रुपमा उपस्थित हुने उनले जानकारी दिए । रन वेपछि सोही दिन नारायणगढको ग्यालेक्सी एम्पाएरमा सांगीतिक कार्यक्रम हुनेछन । सांगितिक कार्यक्रम नेपालका चर्चित कलाकार तथा युट्युबर सहभागी हुनेछन् । फेशन र म्युजिक दुबैलाई एक अर्कासँग जोड्न कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । कार्यक्रमको प्रोडक्सन पार्टनरको रुपमा ड्रिमस्केप रहेको छ ।