चितवन, २१ जेठ
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहालाई हनिमुन सिटी बनाउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् ।
पूर्वकानुनमन्त्री समेत रहेका गुरुङले धार्मिक, सांस्कृतिक, खेलकुदलगायत पर्यटनको सम्भावना रहेको बताए । उनले जनकपुरमा विवाह हब, लुम्बिनीमा वर्थिङ हब बनाउने भए हनिमुन सिटी पनि थप गर्नुपर्ने उल्लेख गरे । “हनिमुन हबको कमी भयो । कही न कही बनाऊ । चितवनको सौराहालाई हनिमुन सिटी बनाऊ । चितवन, रारा ताल क्षेत्रमा बनाउन,” उनले भने ।
घरेलु मदिरासम्बन्धी कानुन बनाएर ब्रान्डिङ गर्न सके दुई खर्ब राजस्व उठ्ने भन्दै कानुन नबनाउने तर, हात फैलाउन भने तयार हुने भन्ने प्रश्न उनको थियो । जडिबुटीको खेतीको विषयमा पनि कानुन बनाउन सके राजस्व संकलन वृद्धि हुने उनको भनाइ थियो । यसबाट पनि थप दुई खर्ब राजस्व उठ्ने उनको दाबी थियो । “यदि यसरी जाने हो भने १२ होइन १९ खर्बभन्दा बढी राजस्व उठ्छ । हुँदैन भन्ने प्रवृत्ति अन्त्य गरौँ,” उनले भने ।














