चितवन, बैशाख २८ –
विज्ञापन कर न तिर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको विज्ञापनजन्य बोर्डहरु भरतपुरबाट धमाधम हटाउन थालिएको छ ।
विभिन्न कम्पनीले भरतपुरका विभिन्न पसल र सडकहरुमा विज्ञापनजन्य बोर्ड राखेर आफ्नो विज्ञापन गरिरहेका छन् । त्यसबापतको विज्ञापन कर महानगरपालिकालाई कम्पनीहरुले तिर्नुपर्छ । तर केही कम्पनीहरुले विगत तीन वर्षदेखि कर तिरेका छैनन् ।
ती कर न तिर्ने कम्पनीको बोर्डहरु महानगरपालिका र प्रनिश कन्स्ट्रक्सनले हटाउन थालेको हो । गत हप्ता अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक ब्राण्डका बोर्डहरु हटाइएको थियो ।
अहिले बोर्ड हटाउने महानगरको अभियान नारायणगढ बजारबाट सुरु हुँदै भरतपुरका ग्रामिण क्षेत्रसम्म पुगेको छ । महानगरपालिकाले महानगर भित्रका कर नतिर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको विज्ञापनजन्य सबै बोर्डहरु हटाउने जनाएको छ।
भरतपुरमा कर उठाउने जिम्मा पाएको प्रनिश कन्स्ट्रक्सनले पटकपटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेपछि बोर्ड हटाइएको प्रनिश कन्स्ट्रक्सनका प्रतिनिधि दिपक घिमिरेले जानकारी दिए । उनले चरणवद्धरुपमा कर न तिर्ने कम्पनीका विज्ञापनजन्य बोर्डहरु हटाइने बताए । कम्पनीका बोर्ड हटाएपछि कर न तिर्ने वित्तीय संस्था, शैक्षिक संस्था लगायका संघसंस्थाको विज्ञापन बोर्ड हटाउन सुरु गरिने उनले जानकारी दिए ।
त्यसैगरी आफ्नो व्यसायको बोर्ड राख्दा ३० स्क्वायर फुट भन्दा बढीको बोर्ड राख्न पाइँदैन । ३० स्क्वायर फुटभन्दा बढी साइजका बोर्ड राख्ने व्यासायीहरुसँग महानगरपालिकाले कर उठाइरहेको छ । कर नतिरेमा ती व्यवसायीको ठूला बोर्ड पनि हटाइने गरिएको छ ।