– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख २४ –
दान आशा फाउण्डेशनले भरतपुर २६ का विभिन्न ४ विद्यालयमा अध्ययनरत ३५ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
आदर्श माविका कक्षा ८ का ३ जना, कक्षा ९ का १२ जना र कक्षा १० का ८ जना गरी २३ जना, राष्ट्रिय आधारभुत विद्यालय खद्रौलीका कक्षा ७ का ३ जना, कक्षा ८ का ३ जना गरी ६ जना, कोईला आधारभुत विद्यालयका कक्षा ८ का ३ जना र रातापुर आधारभुत विद्यालयका कक्षा ८ का ३ जना गरी कुल ३५ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
विपन्न, गरिब, अपाङ्ग एवम् जेहेन्दार शिक्षामा छोरीहरुको पुहुँच बढाउने उद्देश्यले छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनले छात्रारुको सम्पूर्ण अध्ययन खर्च र कापी, कलम, पुस्तक, परीक्षा शुल्क साथै अत्तिरिक्त कक्षा शुल्क, ड्रेस, जुत्ता लगायत सम्पूर्ण खर्च उपलब्ध गराई सहयोग गर्दै आइरहेको विद्यालयले जनाएको छ ।
फाउण्डेशनको सहयोगले विद्यालयमा अध्ययनरत गरिब छात्राहरुको पठनपाठनमा अत्यन्त ठूलो सहयोग पुगेको बताउँदै ४ वटै विद्यालयका प्रअहरुले फाउण्डेशनलाई एक कार्यक्रमकाबीच धन्यावद ज्ञापन गरेका छन् । सो अवसरमा फाउण्डेशनका संयोजक डमर बहादुर गुरुङ्गले वर्षेनी छात्रवृत्तिको कार्यक्रमलाई निरन्तरता दिने बताए ।
अध्यक्ष सीता गुरुङ, सदस्यहरु डा. रीता गुरुङ्ग, प्रा.डा. गीता गुरुङ्ग, डा. एलिना गुरुङ्ग, नोरा गुरुङ्ग, सल्लाहकारहरुमा जुद्द बहादुर गुरुङ्ग, इ. जितेन्द्र कुमार गुरुङ्ग, सिरिक गुरुङ्ग र चितवन कार्यक्रम संयोजक डमर बहादुर गुरुङ्ग रही ललितपुरमा मुख्य कार्यालय रहेको दान आशा फाउण्डेशनले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
दिव्यनगरका स्थानीय शिक्षा प्रेमी दम्पती स्व. दान बहादुर गुरुङ्ग र स्व. आशादेवी गुरुङ्गको स्मृतिमा परिवारजनले उक्त फाउण्डेशनको स्थापना गरेका हुन् । दम्पतीले आदर्श माविलाई पहिलैदेखि पटकपटक सहयोग गर्ने गरेको आदर्श माविका प्रअ मित्रबन्धु चापागाईंले जानकारी दिए ।