चितवन, वैशाख १४ –
चितवनमा अवसर एकेडेमीको आयोजनामा भरतपुरमा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा आजबाट प्रतियोगिता सुरु भएको हो ।
सुरुवाती खेल पृथ्वीनारायण क्याम्पस पोखरा र बोस्टन इन्टरनेशनल कलेज भरतपुरबीच भयो । खेलमा पृथ्वीनारायण क्याम्पस विजयी भएको छ ।
कुल १० टिम सहभागी रहेको खेलको फाइनल पनि आजै सम्पन्न गर्ने गरी आयोजक लागेको छ ।
खेलको उद्घाटन सत्रमा जिल्ला समन्वयन समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुेवेदीको उपस्थिति रह्यो ।
अवसर एकेडेमी र एसडीटेक कम्पनीले आयोजना गरेको प्रतियोगितामा सेन्ट्रल कलेज मुख्य सहयोगी संस्थाको रुपमा रहेको छ । यसका साथै प्रतियोगितालाई विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । खेलको मिडिया पार्टनरमा चितवन आज डटकम पनि रहेको छ ।
प्रतियोगितामा विजेता टिमले ४० हजार र दोश्रो हुनेले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सबैभन्दा बढी गोल गर्ने खेलाडीले तीनतीन हजार पुरस्कार पाउनेछन् । प्रति टिम दर्ता शुल्क २५०० रहेको छ ।
भरतपुरलाई आइटी हबको रुपमा चिनाउन योगदान पुर्याउन र आईटी समुदायलाई अझ बलियो बनाउन यस फुटसल आयोजना गरिएको अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटा बताउँछन् ।