चितवन, ८ बैशाख
भरतपुर महानगरपालिका वडा नं-२९ स्थित सत्रकिलोमा कार र ट्रक एकापसमा ठक्कर खाँदा कारमा सवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल नगरपालिका वडा नं २ बस्ने ६८ वर्षीया सुवर्ण मल्ल रहेका छन् । मल्लको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
शुक्रबार भरतपुरबाट मुग्लिङतर्फ जादै गरेको बि एबी ५३२० नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको बा प्र०३–००१ ख २०६३ नम्बरको ट्रक ठोक्किएको थियो ।
सो दुर्घटनामा परि कार चालक भरतपुर–१९ बस्ने बर्ष ३८ को शैलेन्द्र सुवेदी, कारमा सवार रुपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने बर्ष ४६ को सुमन मल्ल, सोहि ठाउँका ७४ वर्षीय केशव मल्ल घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
दुबै सवारी साधनमा क्षेती भएको र ट्रक चालक धादिङ धुनेबेशी नगरपालिका–७ बस्ने बर्ष ४२ को राजु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको भण्डारीले बताए ।