चितवन, २३ चैत
चितवन अदालतले माओवादी पूर्वकमाण्डर माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
अदालतका श्रेष्तेदार विष्णुप्रसाद आचार्यका अनुसार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । हिजो र आज दुई दिन थुनछेक बहसपछि न्यायाधीश ढकालले खामलाई थुनामा पठाउन आदेश दिएका हुन् ।
आदेशमा भनिएको छ–‘तत्काल प्रमाणको आधारमा दावीको कसुरमा प्रतिवादी खामको संलग्नता नरहेको भनी अहिले नै भन्न नसकिने विद्यमानता नदेखिदा पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी कानुन बमोजिमको सुविधा पाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा (६७) बमोजिम मुद्दा पूर्पक्षका लागि थुनामा राख्न निज प्रतिवादी विविध भन्ने कालीबहादुर खाम मगरलाई कारागार कार्यालय चितवनमा पठाइदिनु साथै निज प्रतिवादीले साक्षी समेत राखेको देखिदा निजका साक्षीहरु समेत बुझि नियन अनुसार गर्न यो आदेश गरिदिए ।’
१५ वर्षदेखि फरार रहेका खामलाई चैत २० गते काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेश गरिएको हो । कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्याएर हत्या गरिएको खाममाथि आरोप छ । खाम शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनको कमान्डर थिए ।







