चितवन, २३ चैत
चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माविमा एसईई परिक्षा चलिरहेको समयमा केन्द्राध्यक्षले लापरबाही गरेको भन्दै अनेरास्ववियु चितवनको ध्यानाकर्षण भएको छ ।
आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनले जिल्ला शिक्षा समन्वय इकाई भरतपुर,सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडा, परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर र राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौंडामा ध्यानाकर्षणस्वरुप एक विज्ञप्ति बुझाएको छ ।
चैत २२ गते आदिकवि भानु मा.विमा परिक्षा केन्द्र रहेको श्री सीताराम सस्कृत मा.वि. देवघाटका विद्यार्थीहरूलाई संस्कृत कर्मकाण्ड पाठ्यक्रममा आधारित भएर प्रश्न पत्र दिनुपर्नेमा गुरूकुल कर्मकाण्डको प्रश्नपत्र दिइएको अनेरास्ववियु चितवनले जनाएको छ ।
जिल्ला अध्यक्ष हरि आचार्यद्वारा जारि विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीले प्रश्नपत्र फरक परेको कुरा पटकपटक बताईरहेको भएपनि निरिक्षक र केन्द्राध्यक्षले कुनै सुनुवाइ नगरि जे आउछ उहि लेख्न र हल्ला गरे परिक्षा हलबाट बाहिर निकालिदिने धम्की दिएपछि विद्यार्थी चुपचाप हलमा बस्न बाध्य भएको विषयले अनेरास्ववियु जिल्ला कमिटी चितवनलाई गम्भीर बनाएको छ ।”
पाठ्यक्रम नै फरक रहेको प्रश्नपत्रबाट परिक्षार्थीले परिक्षा दिन बाध्य भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । यस सम्बन्धमा आवश्यक छानबिन गरि केन्द्राध्यक्षलाई तत्काल निलम्बन गरि कारबाही गर्न अनेरास्ववियु चितवनले माग गर्दै विद्यार्थीहरुलाई पुनः परिक्षा दिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।