चितवन, चैत २०-
व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका माओवादीका पूर्वलडाकु कालीबहादुर खामलाई मंगलबार राति नै चितवन ल्याइने भएको छ ।
काठमाडौं प्रहरी परिसरका अनुसार खामलाई भोलि बुधबारसम्म चितवन जिल्ला अदालत बुझाइन लागेको हो ।
माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुखसमेत रहेका खामलाई जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालत चितवनमा पेश गर्ने र उनलाई अदालत बुझाइएपछि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ ।
के थियो घटना ?
व्ववसायी श्रेष्ठ परिवार काठमाडौँको कोटेश्वर निवासी माओवादी निकट व्यवसायी थिए । उनलाई २०६५ साल वैशाखको १५ गते घरमा सुतिराखेको अवस्थामा गोबिन्दबहादुर बटलासहितले अपहरण गरेर तत्कालीन जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरमा ल्याएका थिए । शिविरमा चरम यातना दिएको कारण श्रेष्ठको वैशाखको २८ गते राति मृत्यु भएको जनाइएको थियो । यद्यपि उनको शव मृत्यु भएको भनिएको १३ दिनपछि जुगेडीको त्रिशूली नदी किनारमा भेटिएको थियो ।
हत्यामा संलग्न बटलालाई भने तेस्रो डिभिजन जुटपानीले पत्रसहित २०६५ वैशाखको ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको थियो । बटलालाई जिल्ला अदालत चितवनले २०६५ जेठ २८ गते पूर्पक्षको लागि थुनामा पठाएको थियो । तर, श्रेष्ठ हत्याकाण्डमा मुद्दा परेका कालीबहादुर खाम ‘विविध’, गंगाराम थापा ‘एटम’, केशवबहादुर अधिकारी ‘रघु’ प्रत्यक्ष संलग्न रहेको अभियोग लागेको थियो । उनीहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेको थिएन । व्यवसायी श्रेष्ठको परिवारले मूलुकी ऐन ज्यान सम्बन्धी महलको १३ ‘३’ अनुसार सर्वश्वसहित जन्मकैदको जिल्ला अदालत चितवनमा २०६५ वैशाख २७ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दामा ज्यान सम्बन्धी महलको १७ ‘४’ बमोजिम अपहरणको थप कारबाही समेत माग गरिएको थियो ।