चितवन, २० चैत
भरतपुर-२३ स्थित चितवन राष्ट्रिय निकुञ्ज भित्र चैत २६ गतेबाट बिक्रमबाबा मेला सुरु हुने भएको छ । भरतपुर महानगरपालिकाले भरतपुर– २३ मा रहेको घैलाघारी सामुदायिक वन, केरुङ्गा उपभोक्ता समिति, क्लब तथा टोलविकास संस्थासँग समन्वय गरि मेला सञ्चालन गर्ने तयारी गरेको हो ।
बिक्रमबाबा मेला मूल समारोह समितिको संयोजकमा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी छन् । त्यस्तै भरतपुर– २३ का वडा अध्यक्ष दीपक दवाडीको संयोजकत्वमा सात सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।
चैत २६ गते कृष्ण औँशीको दिनदेखि सुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सञ्चालन गरिने बिक्रमबाबा मेला मूल समारोहका संयोजक भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए ।
महानगरपालिकाले मेलामा प्रयोग हुने पार्किङ शुल्क दर पनि निर्धारण गरेको छ । जसअनुसार ठूला सवारीसाधनको लागि १०० रुपैयाँ, कारको लागि ८० रुपैयाँ, मोटरसाइकलको लागि २० रुपैयाँ र साइकलको लागि १० रुपैयाँ कायम गरिएको छ । त्यस्तै पानी २० रुपैयाँ, सादा खाना १५० रुपैयाँ, मःम १२० रुपैयाँ, चाउमिन ८० रुपैयाँ, जेरी पुरी एक सय रुपैयाँ र चिया २५ रुपैयाँ निर्धारण गरिएको छ । मेलामा धुमपान तथा मद्यपानलाई पूर्णरुपमा निषेध गरिएको छ । त्यस्तै मेला परिसरमा सहायता कक्ष र हेल्थ डेस्क पनि राखिने भएको छ ।
विक्रमबाबा पूजा स्थल कसराको भित्री क्षेत्रको सुरक्षा चितवन राष्ट्रिय निकुञ्जले गर्नेछ भने मेला व्यवस्थापनको बाहिरी जिम्मेवारी नेपाल प्रहरी र सशत्र प्रहरी बल र नगर प्रहरीलाई दिइएको महानगरले जनाएको छ।
राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्ज भित्र चैत्र कृष्ण औँशीको दिनदेखि वैशाख पूर्णिमासम्म मेला सञ्चालन हुँदै आइरहेको छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ । उक्त मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजुङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाहरुबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।