चितवन, चैत १२ –
भरतपुर महानगरपालिका ११ मा जनतासँग एमाले कार्यक्रमले तीव्रता लिँदै गएको छ ।
नेकपा एमाले पार्टी वडा कमिटी भरतपुर महानगरपालिका ११ ले जनतासँग एमाले अभियान २०८० लाई योजनाबद्धरुपमा अगाडि बढाउँदै लगेको हो ।
पार्टी वडा कमिटी अध्यक्ष इश्वरी प्रसाद पण्डितका अनुसार वडा नम्बर ११ मा ३२ वटा टोल रहेका छन् । जसलाई ३ भागमा वर्गीकरण गरेर पार्टी उपाध्यक्ष लालमाया लामालाई १० वटा टोल कमिटी पुनः गठन र सदस्यता नवीकरण गर्ने जिम्मेवारी सुम्पिएको छ भने सविच गोकर्ण कार्कीलाई १२ वटा टोलमा टोल कमिटी पुनः गठन र सदस्यता नवीकरणको जिम्मेवारी तोकिएको छ भने पार्टी उपसचिव गणेश लामिछानेले १० वटा टोलमा पार्टी टोल कमिटी पुनः गठन गर्ने गरी योजना बनाइएको छ ।
उक्त योजना अनुसार हालसम्म १४ वटाभन्दा बढी टोल कमिटी गठन र पुनः गठन गरी सकिएको छ भने ५० प्रतिशित नवीकरण गरि सकिएको पार्टी वडा कमिटीले जनाएको छ ।
यो अभियानको संयोजन प्रदेश कमिटी सदस्य लक्ष्मीकान्त चालिसेले गरेका छन् भने अभियानमा जिल्ला कमिटी सदस्य सुशिल केसी, पूर्व जिल्ला कमिटी, महानगर कमिटी, जनवर्गीय संगठनका नेताहरुको सक्रिय उपस्थिति रहेको छ ।
पार्टी वडा कमिटी अध्यक्ष पण्डितका अनुसार हिजो नवीकरण नगरेका, भोट अन्यत्रै दिएका सदस्यहरुले पनि हामीले गलत गरिएछ भन्दै नवीकरण गराइरहेका छन् । पार्टी भनेको नेकपा एमाले नै ठिक रहेछ भन्ने प्रतिक्रिया अभियानका क्रममा आइरहेको उनको दावी छ ।
जनतासँग एमाले अभियान अन्तर्गत चितवनका हरेक वडामा पार्टी गतिविधिहरु भइरहेका छन् ।