चितवन, चैत ७-
जनतासँग एमाले अभियानअन्तर्गत चैत १७ गते चितवनमा बाघचाल प्रतियोगिता हुने भएको छ ।
नेकपा एमाले भरतपुर महानगरपालिका–२१ वडा कमिटीले भेटवाल चौतारो देविदर्शन टोलमा प्रतियोगिता गर्न लागेको हो ।
लोप हुन लागेको बाघचाल खेललाई संरक्षण गर्दै नयाँ पुस्तालाई चेतना दिन प्रतियोगिता गर्न लागिएको बागमती प्रदेश जनसांस्कृतिक महासंघ प्रमुख अश्विन घिमिरेले बताए । उनले भने, ‘यसले एकातिर नागरिकसँगको सम्पर्क कायम गर्छ भने अर्काेतिर लोप हुन लागेको परम्परागत खेललाई पुर्नस्थापित गर्नेछ ।
दिल कुमार श्रेष्ठको संयोजकत्वमा हुने प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धा हुनेछ । यो खेलमा इच्छुक व्यक्तिहरुले एमाले वडा कमिटीका अध्यक्ष प्रकाश रावल र खेल संयोजक दिल कुमार श्रेष्ठ संग नाम टिपाउन सक्ने जनाइएको छ । खेलमा १६ जना खेलाडीलाई मात्र प्रतिस्पर्धा गराइनेछ। विजयी खेलाडीलाई पुरस्कारको व्यवस्था मौलाकालिका केबलकारले गरेको छ ।