इलाम, ७ चैत
लामो समयपछि वर्षा भएपछि इलामका किसान खुसी भएका छन् ।
गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका छन् ।
किसान मात्रिका खतिवडाले पानी परेपछि मर्क छर्नका लागि सहज भएको बताउनुभयो । “चिया पलाउने समयमा पानी परेकाले राम्रो भएको छ भने अन्य बालीको उब्जनी पनि अब बढ्नेछ”, उहाँले भन्नुभयो, “लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न समस्या भएको थियो ।”
इलाम सदरमुकामसहित जिल्लाका विभिन्न भागमा रातिदेखि नै पानी परिरहेको उहाँको भनाइ छ । “पानी नपर्दा अलैँची सुक्न थालेको थियो । मकै छर्न सिँचाइ गर्नुपर्ने अवस्था थियो । तर पानी परेपछि सबै किसानलाई सहज भएको छ”, उहाँले भन्नुभयो ।