चितवन, २३ फागुन :
चितवन जिल्लामा स्थानीय दुग्धजन्य वस्तुको उपभोग बढाउन सरोकारवालाले जोड दिएका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको दुग्धजन्य पदार्थ उत्पादक र व्यवसायीका समस्या समाधानसम्बन्धी अन्तक्र्रिया कार्यक्रमका अधिकांश वक्ताले स्थानीय उत्पादनको प्रचारप्रसार र गुणस्तरमा ध्यान दिनसकेमा मात्र उपभोग बढाउन सकिने बताएका हुन् ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले एकअर्कालाई सहयोग गरेर समस्या समाधान गर्न सकिने बताउनुभयो । किसानका समस्या समाधानका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयोे ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सरकारी निकायमा हुने कार्यक्रममा दुग्धजन्य वस्तुको उपयोग बढाउन निर्णय गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोग बढाउन हामी निर्णय गरौँला तर ब्राण्डिङ र गुणस्तरमा ख्याल गर्नुहोस्”, प्रतिस्पर्धी उत्पादनमा जोड दिनुभयोे ।
केन्द्रीय दुग्ध सहकारी सङ्घका उपाध्यक्ष भागीरथ तिमिल्सिनाले विद्यालयदेखि सुरक्षा निकायसम्ममा दुग्धजन्य पदार्थको खपत बढाउन जरुरी रहेको बताउनुभयो । जिल्लामा उत्पादित दुग्धजन्य वस्तुको खपत बढाउन सकेमा दुग्ध उत्पादक किसानको समस्या समाधान हुने उहाँले बताउनुभयो । छिमेकी देशबाट आएका दुग्धजन्य वस्तुको गुणस्तर मापन र बजार अनुगमन हुन नसक्दा समस्या देखिएको उहाँको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख घननाथ अधिकारीले बजार अनुगमनलाई व्यवस्थित गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । बाहिरबाट आएका अखाद्यवस्तु नियन्त्रण गर्न व्यवसायीको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र भरतपुरका प्रमुख सुशील केसीले स्थानीय उत्पादनको लागत घटाएर गुणस्तर कायम गर्नसके दुग्ध उत्पादक किसानमा समस्या नहुने बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घ चितवनकाका अध्यक्ष सुमन श्रेष्ठ र चितवन उद्योग सङ्घका अध्यक्ष सूर्य न्यौपानेले बजारीकरणमा देखिएका समस्या समाधानका लागि सङ्घले सहजीकरणमा सहयोग गर्ने बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष तेजेन्द्रबहादुर भुसालले विद्यालयमा दिवा खाजाको रुपमा केही दिन दुग्धजन्य उत्पादनको तालिका राख्न सकिने बताउनुभयो । नियमित नसकिने भए पनि हप्तामा केही दिन मिलाएर गर्न सकिने उहाँको भनाइ थियो ।
चितवन मिल्कका सहव्यवस्थापक हेम प्रसाद तिवारीले आगामी आइतबारदेखि उद्योगले दूध उठाउन सुरु गर्ने बताउनुभयो । उद्योगको गोदाममा थन्किएका दुग्धजन्य पदार्थ आ–आफ्नो लैजान र बाँकी रकम भुक्तानी गर्न उहाँले आग्रह गर्नुभयो ।
चितवन जिल्ला दुग्ध उत्पादक कृषि सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले अहिले दैनिक ६० हजार लिटर दूध उठ्न नसकेको जानकारी दिनुभयो । दैनिक रु ४२ लाख घाटा बेहोर्नुपरेको भन्दै उहाँले दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सरकारी निकायबाट पहलकदमीका लागि आग्रह गर्नुभयो ।
—







