चितवन, २० फागुन
चितवनको राप्ती नगरपालिका वडा न. ११ स्थित माध्यमिक विद्यालय थाकलटारमा अध्यनरत एक विद्यार्थीलाई बोक्सीको आरोपमा विद्यालयभित्रै झारफुक र दुर्व्यवहार गरिएको घटनाप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण भएको छ । अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यद्वारा जारी विज्ञप्तिमा अन्धविश्वासको आडमा विद्यार्थीलाई बोक्सीको आरोपमा विद्यार्थीमाथि गरिएको दुर्व्यवहार, हिंसा, यातना र अमानवीय व्यवहारले मानवअधिकारको हनन् भएको उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ, “यस घटनाले विद्यालय प्रशासन, व्यवस्थापन समिती र स्थानिय सरकारको शैक्षिक एवम् सामाजिक चेतनाको स्तर उदाङ्गो बनाएको छ । बोक्सी प्रथाका नाममा बर्बर यातना हुँदा तमासा हेरेर बस्ने र न्यायको लडाइँ लड्दा उल्टै अन्याय सहनु परेका उदाहरण समाजमा व्याप्त रहेका छन । विद्यार्थी माथिको चरम दुर्ववहारको तत्काल छानविन गरी दोषीउपर कार्वाही गर्न र पिडित विद्यार्थीलाई न्याय दिलाउन सम्बन्धित सरोकारवालाहरू संग अनेरास्ववियु जिल्ला कमिटी चितवन जोडदार माग गर्दछ ।”
शैक्षिक चेतना उच्च रहेको जिल्लामा अन्धविश्वासको परकाष्टमा रूमलिएर विद्यार्थीलाई शोषण गर्ने छुट कसैलाई नभएको अनेरास्ववियु चितवनले बताएको छ ।
तत्काल समस्याको समाधान गरि पिडित विद्यार्थीलाई न्याय दिन अनेरास्ववियु चितवनले माग गरेको छ । विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानिय सरकारले वेवास्ता गरि समस्याको समाधान नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।