भरतपुर, १५ फागुन
राप्ती नगरपालिकामा कार्यपालिका बैठक र नगरसभा तत्काल गर्न नेकपा एमाले कमिटिले माग गरेको छ । नेकपा एमाले राप्ती नगरपालिकाका इन्चार्ज भीम बहादुर पुनद्वारा जारी विज्ञप्तिमा कार्यपालिका र नगरसभाको बैठक आहवान नभएको हुदा सिङ्गो नगरपालिका बन्दक बनेको विज्ञप्तिमामा उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तिमामा भनिएको छ, “जनप्रतिनिधिहरुका लिखित अनुरोधलाई बेवास्ता गर्दै कानुनी व्यवस्था अनुरुप कुनै पनि कार्यपालिकाको बैठक र नगरसभाको आहवान नभएको हुदा सिङ्गो नगरपालिका बन्दक बनेको छ भने जनताका अनेकौं माग र मुद्दाहरुको सुनुवाई र आम जनतामा स्थानीय सरकार भएको प्रत्याभूति हुन सकेको छैन । त्यसैले जनप्रतिनिधिहरुको मागको सुनुवाई गर्दै कानुनी प्रावधान अनुसार तत्काल कार्यपालिका बैठक र नगरसभाको आहवान गर्न नेकपा (एमाले), राप्ती सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।”
फागुन १० गते राप्ती नगरपालिकाका जनप्रतिनिधिहरुले नगरप्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा र प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
कार्यपालिका बैठक र हिउँदे नगरसभाको माग गर्दै जनप्रतिनिधिहरुले कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
नगर प्रमुखको कार्यशैलीप्रति असहमति जनाउँदै आएका काङ्ग्रेस ,एमालेसहितका ६२ जना जनप्रतिनिधिले सात दिनको अल्टिमेटम दिएका थिए । तर, प्रमुखले बैठक नबोलाई बेवास्ता गरेका कारण तालाबन्दी गर्न बाध्य भएको जनप्रतिनिधिहरुले बताएका छन् ।