– माधव सापकोटा
फागुन ६, चितवन
चितवनको भरतपुर–४ स्थित धर्मचोकमा फागुन २ देखि जारी श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सवमा भोलि प्रधान आचार्य रङ्ग मन्दिर वृन्दावनका गोवर्धन पीठाधीश्वर गोवर्धन रङ्गाचार्य बालक स्वामीको आगमन हुने मूल समितिले जानकारी दिएको छ ।
महोत्सवमा आजदेखि भगवानका विग्रहहरूको प्राणप्रतिष्ठात्मक विशेष कार्यक्रमको सुरुवात भएको छ । कार्यक्रमअनुसार फागुन ६ गते पूर्वाङ्ग पूजन, ७ गते भगवान्का विग्रहरूको धान्याधिवास, ८ गते जलाधिवास, ९ गते नेत्रोन्मीलन, प्राणप्रतिष्ठा, १० गते महापूर्णाहुति हुने आचार्य दामोदर सापकोटाले बताउनुभयो ।
महायज्ञमा अहिलेसम्म ४७ लाख रकम संकलन भएको मूल समितिका कोषाध्यक्ष रोमाकान्त कंडेलले जानकारी दिनुभयो ।
महायज्ञमा दैनिक रूपमा पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या अनुष्ठान पाठ /पारायणका कार्यक्रमहरू चलिरहेका छन् ।
पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्व तथा डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा जारी महायज्ञ फागुन १० गतेसम्म चल्ने छ ।







