माधव सापकोटा
फागुन ४, चितवन
चितवनको भरतपुर–४, धर्मचोक,लंकुमा फागुन २ देखि जारी श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० मा आजसम्म २८ लाख भन्दा बढी रकम संकलन भएको मूल समितिका कोषाध्यक्ष रोमाकान्त कंडेलले जानकारी दिनुभएको छ।महोत्सवका कार्यक्रमअन्तर्गत लक्ष्मीनारायण पुष्पयाग कार्यक्रमप्रति भक्तजनहरूको विशेष आकर्षण बढिरहेको छ।
महायज्ञका प्रधान अङ्गमध्येको यो यज्ञ दैनिकरूपमा बिहान ८:३० देखि १०:३० सम्म चल्ने र आफैं बसेर आफ्नै हातले अरिष्ट निवृत्ति, ग्रहशान्ति ,मनोकामना प्राप्ति र भगवत्प्रीतिका लागि हुने यो आराधनाका कर्ता शुद्ध आहार र वेशभूषा भएका सनातन विचारधारा र मर्यादामा रहेका नर- नारी रहने र यस आराधनामा भगवान्का सहस्र/ शत नामावलिले विविध फूल, तुलसी, बेलपत्र , दूबो आदिद्वारा अर्चना हुने पुष्पयाग यज्ञका सह- आचार्य डा. कमलनयन रिजालले बताउनुभयो।भोलिका लागि पनि ५० भन्दा बढी भक्तजनले पुष्पयागका लागि नाम टिपाएको मूल समितिका सचिव डा. गोपीनाथ कंडेलले जानकारी दिनुभयो। पुष्पयागका लागि धूप, बत्ती, फूल, तुलसी आदि पूजासामग्रीहरूको व्यवस्था यज्ञस्थलमा उपलब्ध हुने मूल समितिले जनाएको छ।
महायज्ञमा दैनिक रूपमा पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या अनुष्ठान पाठ /पारायणका कार्यक्रमहरू चलिरहेका छन्।
रंग मन्दिर वृन्दावनका पीठाधीश्वर गोवर्धन रंगाचार्य ‘बालक स्वामीको प्रधान आचार्यत्व, पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्वमा चलिरहेको महोत्सवमा डा. चक्रपाणि आचार्यले श्रीमद्भागवत प्रवचन गरिरहनुभएको छ।