– माधव सापकोटा
माघ २९, चितवन
चितवनको भरतपुर–४ स्थित धर्मचोकमा नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरमा फागुन २ देखि १० गतेसम्म चल्ने श्री लक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को पूर्व सन्ध्यामा भोलि फागुन १ गते मोटर साइकल तथा गाडी र्याली हुने भएको छ ।
दिउँसो १ बजे मन्दिर परिसरबाट सुरु हुने र्यालीका लागि अहिलेसम्म ५०० भन्दा बढी युवाहरूले नाम टिपाएको र संख्या अझै बढ्न सक्ने मोटर साइकल तथा गाडी र्याली संयोजक अर्जुन सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत फागुन २ गते बिहान १०ः३० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिक, जातीय लगायत विभिन्न संघ–संस्थाको पहिचान झल्कने वेशभूषा, ब्यानर, ॐकार झण्डासहितको शोभा–कलशयात्राका साथ दिउँसो २ बजे समुद्घाटन हुने आयोजक समितिले जनाएको छ ।
फागुन ६ गतेदेखि १० गतेसम्म भगवान्का विग्रहहरूको प्राणप्रतिष्ठात्मक विशेष कार्यक्रम हुने सो महोत्सवमा दैनिक रूपमा पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या अनुष्ठान पाठ /पारायण हुने कार्यक्रम रहेको छ । महोत्सव रंग मन्दिर वृन्दावनका पीठाधीश्वर गोवर्धन रंगाचार्य ‘बालक स्वामी’को प्रधान आचार्यत्व, पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्व एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा सम्पन्न हुँदैछ ।
महोत्सवको करिब तीन लाख भक्तहरूले दर्शन र अवलोकन गर्ने अनुमान गरिएको मूल समितिका सचिव डा. गोपीनाथ कँडेलले बताउनुभयो ।