भरतपुर, २५ माघ ।
हिसान चितवनको आयोजनमा हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । आज (बिहीबार) बाट गेष्टहाउस चौरमा सुरु भएको प्रतियोगिताको भरतपुर १० का अध्यक्ष परमेश्वर खनालले उद्घाटन गरे ।
प्रतियोगितामा एपेक्स एकेडेमी र गुरुकुल कलेजले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा एपेक्सले अर्किड कलेजविरुद्ध ४-३ को रोमाञ्चक जित हात पार्यो । १-० ले पछि परेको अवस्था उल्टाउदै एपेक्सले जित हात पारेको हो ।
एपेक्सको जितमा निशान्त विकले दुई तथा विश्वास गुरुङ र सुनिल थापा मगरले एक-एक गोल गरे । अर्किडका जेम्स लामा, दर्शन क्षेत्री र मनिष लामाले एक-एक गोल गरे । यो जितसँगै एपेक्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपेक्सका निशान्त विक म्यान अफ दि म्याच भए ।
दोस्रो खेलमा गुरुकुलले वाल्मीकि शिक्षा सदनलाई हरायो । रोमाञ्चक खेलमा गुरुकुल सडन डेथमा विजयी भयो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ३-३ को बराबरी भएपछि सडन डेथमा गुरुकुल विजयी भयो । यो जितसँँगै गुरुकुल क्वाटरफाइनलमा पुगेको छ । गुरुकुलका गोलकिप्पर अभिषेक गुरुङ म्यान अफ दि म्याच चुनिए ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले २० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै हरेक विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।