भरतपुर, २१ माघ :
भरतपुर महानगरपालिकासँगको सहकार्यमा चितवन जिल्ला क्रिकेट संघले आयोजना गरेको ‘ओ लेभल अम्पायर तथा स्कोरर ट्रेनिङ्ग २०८०’ आज (आइतबार) देखि सुरु भएको छ । भरतपुर १५, रामपुरस्थित निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला परिसरमा आजबाट सुरु भएको ट्रेनिङ्ग मा २३ गतेसम्म संचालन हुनेछ ।
नेपालका अन्र्तराष्ट्रियस्तरका अम्पायरद्वय विनयकुमार झा र मोहम्मद सफिकद्वारा दिइएको प्रशिक्षणमा करिब ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको जिल्ला क्रिकेट संघले जनाएको छ । कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि चितवन जिल्ला क्रिकेट संघका सल्लाहकार तथा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ्ग सेन्टर प्रा.लि.का प्रिन्सिपल वाइबी पौडेलले क्रिकेट विकासमा यस्ता तालिमहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
नयाँ कार्यसमिति निर्वाचित भएको छोटो समयमा नै जिल्लाको इतिहासमा पहिलोपटक यस तालिम आयोजना हुनु स्वागतयोग्य काम भएको बताए । कार्यक्रम मन्तव्य राख्दै संघका अध्यक्ष सुदिप पियाले तालिमबाट उत्पादित क्रिकेट प्राविधिक (अम्पायर तथा स्कोरर) हरुले चितवन जिल्लासँगै छिमेकी जिल्लाहरुको समेत क्रिकेट क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताए ।
तालिमबाट उत्पादित अम्पायर तथा स्कोररहरुलाई संघले आयोजना गर्ने हरेक प्रतियोगितामा उच्च प्राथमिकताका साथ उपयोग गरिने उनले बताए ।
कार्यक्रमको पहिलो दिन आज मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले बनाएका ४२ वटा नियमहरुमध्ये १७ वटा नियमका बारेमा कक्षा संचालन भएको अम्पायर प्रशिक्षक विनयकुमार झाले बताए । सहभागीहरुको जिज्ञासाले आफुहरुलाई निकै उत्साहित बनाएको र तालिमका प्रशिक्षार्थीहरुलाई प्रदेशस्तरको प्रतियोगितासम्म अम्पायरिङ्ग तथा स्कोरिङ्ग गर्न सक्षम हुने जनशक्ती उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए ।
पछिल्लो समय चितवन जिल्लामा क्रिकेटका प्रतियोगिताहरुको संख्या बाक्लिदै गएका छन् । माघ २६ गतेबाट नमुना मैदानमा भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुदैछ ।