माधव सापकोटा
माघ १७, चितवन
भरतपुर -४, धर्मचोक, लंकुमा नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको आगामी फागुन २ देखि १० गतेसम्म चल्ने लक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८०को तयारीका लागि टोल विकास संस्थाहरूको सक्रियता बढेको छ।
मन्दिर परिसरमा आज आयोजित टोल विकास संस्थाहरूको भेलामा बोल्ने अधिकांश वक्ताहरूले यस क्षेत्रको प्राचीन मन्दिरका रूपमा रहेको मन्दिरलाई दिव्यधामका रूपमा विकास गर्नुपर्ने कुरालाई औंल्याउँदै प्राणप्रतिष्ठा महोत्सव सम्पन्न गर्न आवश्यक हरप्रकारको सहयोगका लागि टोल विकास संस्थाहरू तयार रहेको कुरा बताएका थिए ।
कार्यक्रममा मूल समितिका सह- संयोजक तथा टोल विकास सम्पर्क समन्वय संयोजक रामजी पौडेल लगायत भरतपुर – ४ का टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
महायज्ञका प्रमुख कथावाचक डा. चक्रपाणि आचार्यको सान्निध्य तथा सल्लाहकार संयोजक टीकाराम कंडेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम प्राण-प्रतिष्ठा सम्पादन मूल समितिका संयोजक कमलनयन कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो । यसैबिच आजै बसेको मूल समितिको बैठकबाट तुलसीदास( तारानाथ) कंडेल र यमलाल कंडेललाई सह- संयोजकमा मनोनयन गरिएको छ।