चितवन, माघ १२ –
भरतपुर महानगरपालिका स्तरीय युवा सञ्जाल गठन गरिएको छ । आज प्रत्येक वडाबाट आएका युवा प्रतिनिधिहरुको भेलाले महानगर स्तरीय युवा सञ्जाल कमिटी ध्वनी मत र मतदान दुवै विधिबाट गठन गरेको हो ।
कमिटीको अध्यक्षमा अञ्जन दवाडी, उपाध्यक्षमा सुश्रिका दवाडी, सचिवमा रुपक घिमिरे, सहसचिवमा बीभा पाण्डे, कोषाध्यक्षमा दिपिका काफ्ले चयन भएकी छन् । सदस्यहरुमा शिशिर कुँवर, हिरालाल आचार्य, अस्मिता रेग्मी, सलिना श्रेष्ठ, यम बहादुर कुमाल र जेसिका श्रष्ठ चयन भएकी छिन् ।
सुरुमा भरतपुरका वडाहरुबाट आएका प्रतिनिधिबाट ११ सदस्यीय कमिटी गठन गरियो । ११ सदस्यीय कमिटीमा महिलाबाट ६ सदस्य सर्वसम्मत, विशेष प्राथमिकातमा एक जना सर्वसम्मतबाट चयन भए । प्राथमिकतामा दुई जनाबीच ध्वनी मत गराई छनौट गराइयो । यसैगरी बाँकी रहेका ३ जना खुला सदस्यहरु चयन गर्दा १० जना आकांक्षीबाट ३ जना ध्वनी मत मार्फत छनौट गरियो । यसरी आजको युवा सञ्जाल गठनमा प्रजातान्त्रिक अभ्यासको उच्चतम प्र्रयोग गरिएको छ ।
११ सदस्यीय कमिटी सहित कुल ५८ सदस्यीय महानगरस्तरीय युवा सञ्जाल गठन गरिएको हो । महानगर स्तरीय युवा सञ्जाल गठन गर्नुपूर्व भरतपुरका २९ वटै वडाहरुमा वडा स्तरीय युवा क्लव गठन गरिएको थियो । प्रत्येक वडाबाट एक महिला र एक पुरुष गरी दुई जना प्रतिनिधि पठाइएको थियो ।