चितवन, माघ ८–
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका कर्मचारीहरुले गामबेसी चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेका छन् ।
चेपाङ बालबालिकाहरुलाई आवासीय रुपमा शिक्षा दिइरहेको केन्द्रमा रहेका बालबालिकाहरुलाई पढ्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री र स्टेशनरी सामग्री सहयोग गरेका हुन् । सहयोग सामग्री एक्सपर्ट चितवनका निर्देशक डिल्ली राम अधिकारीले गामबेसी चेपाङ संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्मालाई हस्तान्तरण गरेका थिए ।
एक्सपर्ट चितवनका कर्मचारीहरुले देउँसी भैलो खेल्दा संकलन भएको करिव ५० हजार रुपैयाँबाट उक्त सामग्री खरिद गरि सहयोग गरिएको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले बताए । सहयोग हस्तान्तरण गर्दै अधिकारीले भन्नुभयो–‘कर्मचारीहरु देउँसी भैलो खेल्दा संकलित रकम यति महत्वपूर्ण कार्यक्रममा उपयोग गर्ने निर्णयले मलाई निकै खुशी तुल्याएको छ, चेपाङ बालबालिकाहरुको शिक्षामा सहयोग गर्न एक्सपर्ट सदैव तयार छ ।’
सो क्रममा बोल्दै गामबेसी चेपाङ संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्माले दाताहरुकै सहयोगमा चेपाङ बालबालिकाहरु आवासीय रुपमा शिक्षा हासिल गर्न पाएको भन्दै एक्सपर्टको सहयोगले थप हौसला थपेको बताउनुभयो । उहाँले आगामि दिनमा पनि यस्तै सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा चेपाङ बालबालिकाहरुले चेपाङ समुदायले भोग्दै आएको समस्या गीत मार्फत मार्मिक रुपमा प्रस्तुत गर्दै स्वागत गरेका थिए । एक्सपर्ट चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले संचालन गरेको कार्यक्रममा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल, प्रिन्सिपल प्रचण्ड हमाल, आइइएलटिएस÷पीटीई कोअडिनेटर उमा आचार्य, एक्सपर्ट रत्ननगरकी शाखा प्रमुख मिना तिमिल्सिना, प्रकाश रिजाल, रमेश सापकोटा, कमला पौडेल, मिराज पौडेललगायतको उपस्थिति रहेको थियो ।