चितवन, २८ पुस ।
आजबाट चितवनको भरतपुरमा सञ्चालन हुने ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरुङले उम्मेदवारी दिने बताउनुभएको छ ।
भरतपुरमा रहेको गुरुङ स्किल ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालीका सञ्चालक एवं सङ्घका केन्द्रीय उपाध्यक्ष गुरुङले यसपटकको नेतृत्व चितवनले पाउनुपर्ने भन्दै उम्मेदवारी दिने जनाउनुभएको हो । ‘एक कार्यकाल अध्यक्ष भएर सङ्घलाई अगाडि बढाउने तयारी गरेको छु’ उहाँले भन्नुभयो, ‘सङ्घलाई अगाडि बढाउनका लागि आवश्यक पर्ने कुनै पनि कसर बाँकी नराखी काम गर्ने मेरो प्रतिबद्धता छ ।’ सरकारले आफूहरुलाई गरेको विभेदका विरुद्धमा खरो रुपमा उत्रिदै ड्राइभिङ स्कुल सञ्चालकहरुको हकहितका लागि काम गर्ने बताउनुभयो । आफूले उम्मेदवारी घोषणा गरेसँगै गुरुङले आफ्नो विभिन्न १३ बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गर्नुभएको छ ।
नेपाल ड्राइभिङ स्कूल सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै गुरुङले अघि सार्नुभएको कार्ययोजनामा देशभर छरिएका ड्राइभिङ स्कुललाई संगठित गरेर अगाडि बढ्ने, देशभर रहेका ड्राइभिङ स्कूलहरुलाई मर्यादित तथा खुला नीति अनुसार व्यवसाय गर्न सुनिश्चित गराउने भनिएको छ । त्यस्तै, विकृति मौलाउँदै गएको भन्ने खबर अनुसार व्यवसाय गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरालाई तदारुकता नदेखाए ड्राइभिङ व्यावसायिहरुको भविष्य खतरापूर्ण हुनेभन्दै उहाँले त्यसलाई सरोकार निकायसँग गहन जिम्मेवारीका साथ छलफल गरि अगाडि बढ्ने जनाउनुभएको छ ।
उहाँका बाँकी कार्ययोजनामा
– हाम्रो आस्था विचार राजनीति फरक होला त्यसमा सबै आस्थालाई हाम्रो ड्राइभिङ परिवारमा एकल आस्था र विचार बोक्ने बनाउने छु । राजनीति गर्ने होइन व्यवसायलाई मूल आस्था बनाउने छु ।
– सङ्घको आफ्नै भवन निर्माण गर्न सरकारसँग जग्गा उपलब्ध गराउन पहल लिनेछु ।
– यातायात कार्यालयहरुमा सेवा प्रवाह गर्न छिटो भन्दा छिटो अनलाइन भुक्तानी सिस्टममा व्यवस्थित गर्न पहल गर्नेछु ।
– यातायात क्षेत्रमा भएका अनियमितता भष्ट्राचारहरुको अन्त्य गर्न पहल गर्नेछु ।
– हाम्रा जति पनि खोलिएका ड्राइभिङ संस्थाहरुलाई दर्ता गर्न, दर्ता प्रणाली खोकुलो नीति बनाउन पहल गर्नेछु ।
– साना तथा थोरै लगानीमा बनेका स्कूलहरुलाई व्यवस्थित गर्न सम्बन्धित निकायमा छलफल गरी प्रकृय बढाउने छु ।
– श्रमिकहरुको रोजगारीलाई बढावा दिनेछु । नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई विदेशिन नपरोस् भन्दै नेपालमै स्वरोजगार बनाउन आवश्यक नीतिको लागि पहल गर्नेछु ।
– देशमा रहेका विद्यमान कानुन अनुसार व्यवसाय गर्न सुनिश्चित गराउने छु ।
– विपन्न परिवारका लागि निःशुल्क सेवा प्रवाह गर्न पहल लिनेछु ।
– व्यवसाय हकहितका लागि कसैसँग गलत सम्झौता अनुसार व्यवसाय गर्न दबाब दिएको खण्डमा प्रतिवाद गर्ने छु ।
– सधैँ अग्र भागमा रहेर साथीहरुका आवाज बुलन्द गराउने प्रतिबद्धता यो कार्य योजना प्रस्तुत गर्दछु ।
सङ्घको नयाँ नेतृत्वको लागि गुरुङलाई सर्वसम्मत अध्यक्षको रुपमा प्रस्तुत गर्न लागिएको पाँचौँ राष्ट्रिय अधिवेशन संयोजक एवं चितवन ड्राइभिङ स्कुल व्यवसायी सङ्घका पूर्व अध्यक्ष राजाराम परियारले जानकारी दिनुभयो ।
तत्कालीन नारायणी ड्राइभिङ स्कुल व्यवसायी सङ्घको सल्लाहकार, ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय सदस्य एवं केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नुभएका गुरुङलाई यस अधिवेशनमा अध्यक्षको बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरिने परियारको भनाइ छ । सधैँ अध्यक्ष काठमाडौँले राख्न नहुने र चितवन पनि सक्षम छ भनेर प्रस्तुत गर्न पनि गुरुङको उम्मेदवारी रहने उहाँको भनाइ छ । ‘यसपटक दाबीमात्रै मात्रै होइन, अध्यक्ष चितवनले पाउनुपर्छ भनेर हाम्रो लभिङ छ’ उहाँले भन्नुभयो, ‘सहमतिमा भए ठीकै छ होइन भने निर्वाचन प्रकृयामा गएर भए पनि गुरुङलाई अध्यक्ष बनाउँछौँ ।’ गुरुङलाई केन्द्रीय अध्यक्ष बनाउनका लागि माहौला राम्रो बनेको परियारको भनाइ छ । करिब तीन सय ५० प्रतिनिधि रहने महाधिवेशनमा ४० जना चितवनबाट सहभागी हुने परियारले जानकारी दिनुभयो । शनिबार हुने पाँचौं महाधिवेशनबाट ३० सदस्यीय केन्द्रीय समिति तयार गरिने छ । महाधिवेशनको नेपाल सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाले आज भरतपुरको दियालो फुडल्याण्डमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।