– आकांक्षा पोख्रेल
भरतपुर, १४ पुस
सरकारविरुद्द राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले भोलि बिरोध प्रदर्शन गर्ने भएको छ। पुस १३ गते ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा दुई युवाको हत्या भएको विषयलाई लिएर रास्वपा चितवनले बिरोध प्रदर्शन गर्ने भएको हो ।
रास्वपा चितवनका संयोजक कृष्ण प्रसाद भुसालका अनुसार आइताबार (भोलि) दिउँसो ४ बजे भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरिने छ । हत्याको दोषीलाई कारबाहीको माग गर्दै प्लेकार्डसहित केहि समय धर्ना बसिने संयोजक भुसालले जानकारी दिए ।
यस प्रदर्शनमा र्यापिड एक्सन टिम (र्याट) चितवनको समेत सहभागिता रहने भरतपुर महानगरपालिकाका संगठन बिभाग प्रमुख दिवाकर राज श्रेष्ठले बताए ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीले गोलि चलाएको थियो । उक्त आन्दोलनमा दैलेख घर भएका २३ बर्षिय सुजन रावत र डोटी घर भएका २१ बर्षिय विरेन्द्र शाहको मृत्यु भएको थियो ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी समेत गरेका थिए।







