– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुष ८ –
नारायणी किनारका ठेला व्यावसायीलाई खाद्य स्वच्छता सम्बन्धी सीप अभिवृद्धि तालिम प्रदान गरिएको छ । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी व्यावसायीलाई खाद्य स्वच्छता सम्बन्धी तालिम दिइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेशन अफ द युनाइटेड नेशन नेपाल (एफएओ) को आयोजनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको संयोजनमा उक्त तालिम दिइएको हो ।
तालिममा कसरी खाद्य स्वच्छता राख्ने, कसरी गुणस्तरीय खानेकुरा खुवाउने, कसरी ग्राहकलाई व्यवहार गर्ने सहितका विभिन्न कुरा सिकाइएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य विज्ञ घननाथ अधिकारीले तालिमबाट सिकेको ज्ञानलाई व्यावसायीले पक्कै पनि व्यवहारमा उतार्ने विश्वास व्यक्त गरे । अहिले नारायणी नदी किनारमा पाइने खानेकुराको गुणस्तरमा वृद्धि हुने अपेक्षा राखिएको छ ।
कुनै पनि व्यावसायीले स्वच्छताको मापदण्ड पूरा गरेको छ वा छैन भनि उपभोक्ता आफैले पनि विशेषरुपमा ख्याल राख्न जरुरी रहेको अधिकारी बताउँछन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा मतिना जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षकहरुमा वरिष्ठ अधिकृत किशोर केसी, मोहन कृष्ण महर्जन, अधिकृत घननाथ अधिकारी र खाद्य निरीक्षक बन्दना पन्ती रहेकी थिइन् । कार्यक्रममा भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखा तेजेन्द्र प्रसाद पौडेल, भरतपुर १ का अध्यक्ष केशव महर्जन, एफओए नेपालका प्रतिनिधि अर्जुन थापा लगायतको उपस्थिति रहेको थियो ।