माधव सापकोटा
पौष ५, चितवन
संस्कृति मन्त्री सुदन किराँतीले हिजो एक कार्यक्रममा क्रिस्चियनको विरोध गर्ने संविधान विरोधी भएको र त्यस्ता देशद्रोहीलाई जेल हाल्नुपर्ने भनी दिएको अभिव्यक्तिको विरोध गर्दै विश्व हिन्दु महासङ्घ चितवनले ॐकार परिवारको सहभागितामा चितवनको नारायणघाटमा विरोध प्रदर्शन गरेको छ ।
महासङ्घ चितवनका अध्यक्ष प्रेम गैरेको नेतृत्वमा भएको प्रदर्शनमा इसाइको प्रवक्ता संस्कृति मन्त्री राजीनामा दे ,वैदिक सनातन संस्कृतिमाथिको अतिक्रमण बन्द गर, संस्कृतिमन्त्री भ्रष्ट हो, नेपाल हिन्दुराष्ट्र हो जस्ता नारा लेखिएका प्लेकार्डका साथ नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले चौबिस घन्टाभित्र मन्त्री किराँतीलाई कारबाही नगरे आन्दोलनको आधीबेहरी सिर्जना गर्ने चेतावनी दिएका थिए। कार्यक्रमलाई विश्व हिन्दु महासङ्घका केन्द्रीय सदस्य टंकनाथ पौडेल , फूलनाथ निउरे लगायतका हिन्दुवादी अगुवाहरूले सम्बोधन गरेका थिए।
मन्त्री किराँतीको अभिव्यक्ति विरोधमा राजधानी लगायतका देशका विभिन्न ठाउँमा प्रदर्शनहरू भइरहेका छन् ।