– आकांक्षा पोखरेल
भरतपुर, ५ पुस
एक घर एक रक्तदाता भन्ने नाराका साथ मेची महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान सुरु हुने भएको छ ।
ब्लड डोनर्स सोसाईटीले देशभर भएको रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले अभियान सुरु गर्न लागेको हो । आज बिहिबार भरतपुरमा पत्रकार सम्मेलन मार्फत अभियानबारे ब्लड डोनर्स सोसाईटीले जानकारी गराएको छ ।
मेचीको झापाबाट पुस ७ गते बृहत कार्यक्रम गरि अभियान सुरु गर्न लागिएको अभियानका संयोजक अर्जुन अधिकारीले बताए । उनका अनुसार रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान चितवनसहित २७ जिल्लामा हुनेछ ।

कार्यक्रममा विभिन्न संघ संस्था, स्थानीय निकाय एवम सामाजिक अभियान्ताहरुको सहकार्य रहने महासचिब अन्जन दवाडीले जानकारी दिए । रक्तदान अभियानमा सक्रिय युवाहरु बिदेशिदा, नयाँ रक्तदाताहरु नथपिदा र आवश्यकता अनुसार रक्तदान कार्यक्रमहरु आयोजना हुन नसक्दा रगत व्यवस्थापनमा निकै चुनौती भएको दवाडीको भनाई छ।
आयोजकका अनुसार यस अभियान अन्तर्गत विभिन्न जिल्लाका विद्यालय,क्याम्पसमा गएर युवाहरुलाई रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिने छ । र रगत अभाव भएको ठाँउमा सम्बन्धित निकायसँग सहकार्य गरि रक्तदान कार्यक्रम समेत गरिने छ ।








