कालिका,२७ वैशाख-
चितवनको कालिका नगरपालिकामा नेकपा (एमाले)को तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका बिनोद रेग्मीको जीवन राजनीति र सामाजिक काममै बितेको छ । साविक जुटपानी गाविस–५ जमुनापुरका रेग्मी कालिका नगरपालिकाको कुना काप्चासँग परिचित छन् । कालिकाको भूगोल र कालिका नगरवासीमा चिरपरिचित रेग्मीको राजनैतिक जीवन र सामाजिक कर्म यही कालिका नगरमै वितेको छ ।
२०२८ सालमा गोर्खाको घ्याल्चोकमा जन्मिएर २०४३ सालमा चितवन आएका रेग्मी २०४७ सालमा पञ्चकन्या मावि अध्ययन गर्ने क्रममा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष भएका थिए । २०५० सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको चितवन जिल्ला सदस्य भएका उनी तत्कालिन अवस्थामा स्थापना भएको पिपुल्स भोलेन्टियरको चितवन अध्यक्ष समेत भए । नेकपा एमाले जिल्ला कमिटी चितवनमा उनले २०५७ सालदेखि लगातार छैटौँ कार्यकाल सम्म जिल्ला सदस्य भएर काम गरेका छन् ।
पार्टीको विभिन्न विभागहरुमा जिम्मेवारी लिएर उनले कुशलता पुर्वक आफ्नो जिम्मेवारी पुरा गरेका छन् । जिल्ला वन समन्वय समिति, गैर सरकारी संस्था, सहकारी लगायत क्षेत्रमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै उनले जिम्मेवारी लिएका छन् ।
२०७२ सालमा साविकको पदमपुर, जुटपानी, सिद्धी, शक्तीखोर गाविस समावेशगरी कालिका नगरपालिका स्थापना गर्ने क्रममा रेग्मीको महत्वपुर्ण भुमिका रहेको छ । नेकपा एमाले चितवनको तर्फबाट पार्टीको प्रतिनिधीको रुपमा कालिका नगरपालिकामा उनको सर्वदलीय नगरप्रतिनिधीको रुपमा सहभागिता रहेको थियो ।
२०७४ सलामा भएको स्थानीय तहको निर्वाचनमा रेग्मीले नगरप्रमुखको अपेक्षा राखेका थिए । तर, त्यस समयमा एमालेका आफु भन्दा सिनियर खुमनारायण श्रेष्ठले रहर गरेपछि सौहार्दपुर्ण वातावरणमा उनले श्रेष्ठलाई समर्थन गरे । तत्कालीन अवस्थामा मेयरको टिकट नपाएपछि उनी कालिका नगरपालिकाको वडा नम्वर ६ को वडा अध्यक्षको उम्मेदवार बनेका थिए ।
रेग्मीले वडा अध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका थिएि । अन्य पाँच दलको मत र रेग्मीले प्राप्त गरेको मतमा रेग्मीकै धेरै थियो । कालिका नगरपालिका भित्र रहेका वडाहरु मध्ये सबैभन्दा धेरै जनसंख्या रहेको वडामा उनी निर्वाचित भएका थिए । सफल वडा अध्यक्षको पहिचान बनाएका रेग्मी अहिले कालिका नगरपालिकाको प्रमुखको उम्मेदवार हुन् ।
३१ हजार १५७ मतदाता रहेको पालीकाको प्रमुखको उम्मेदवार रहेका रेग्मी राम्रो मतका साथ आफु विजयी हुनेमा ढुक्क छन् । कालिका नगरपालिकामा आफुले २५ वर्ष लगातार क्रियाशिल रुपमा सामाजिक काममा विताएकोले भुगोलको अवस्था र आम नगरवासीको जनचाहनालाई आफुले मसिनोगरी बुझेको बताउँछन् ।
पाँच वर्ष वडा अध्यक्ष मात्र नभई धेरै पटक कार्य बाहक मेयर भएर समेत काम गरेको हुनाले नगरपालिकाको काम गर्ने शैली र तरिकाका बारेमा आफु अनुभव प्राप्त भएको उनी बताउँछन् । नगरपालिकाको नीति, नियम, काम गर्ने तरिका प्रशासनिक र आर्थिक विषयमा आफु प्रष्ट भएको उनले बताए । कालिका नगरपालिकाको दिगो विकासको लागि गुरुयोजना निर्माण गरी काम गर्ने र नगर वासीलाई आफ्नो कारण कहिल्यै दुःखी नबनाउने उनको प्रतिवद्धता छ ।