भरतपुर । भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले अस्पतालका समस्याबारेमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई अवगत गराएका छन् । सोमबार नारायणगढमा मन्त्री बस्नेतलाई भेट गरी आँखा उपचारमा अस्पतालले पुर्याएको योगदानसँगै देखिएका समस्याका बारेमा अवगत गराएका हुन् ।
सो क्रममा श्रेष्ठले स्वास्थ बीमाको ठूलो रकम निकासा नहुँदा नियमित अस्पताल सञ्चालनमा समेत समस्या भएको बताए । यथासक्य छिटो बीमाको रकम निकासाका लागि आवश्यक पहल गरिदिन उनले अनुरोध गरे ।
अध्यक्ष श्रेष्ठले नेपाल नेत्रज्योति संघबाट सञ्चालित भरतपुर आँखा अस्पतालले चितवन र छिमेकी जिल्लामा उपचारमा पु¥याएको योगदानको बारेमा जानकारी गराएका थिए । दाताहरुकै कारण अस्पतालमा सुविधासम्पन्न भवन र उपकरणहरु थप भएको उनले जानकारी गराए ।
मन्त्री बस्नेतले आँखा उपचारमा भरतपुर आँखा अस्पतालको योगदान उच्च रहेको भन्दै बीमामा नयाँ व्यवस्थापन आएको र छिट्टै समस्या समाधान हुने बताए । आवश्यक पहल आफूले पनि गर्ने भन्दै उहाँले आँखा उपचारमा अरु विशिष्टकरण गरेर सेवा अघि बढाउन आग्रह गरे ।
उनले भने “तपाईहरुले इमान्दारिपूर्वक काम गरेकै कारण दाताहरुले सहयोग गर्नुभएको हो ।” दाताहरुको सहयोगलाई सम्मान गर्दै आगामी दिनमा अस्पताललाई अझ राम्रो बनाउन उनको सुझाव थियो ।
अध्यक्ष श्रेष्ठले आजै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीलाई समेत भेट गरी स्वास्थ्य बीमाको रकम रोकिदा भएको समस्याका बारेमा जानकारी गराए । सो क्रममा मन्त्री जोशीले बीमा बोर्डका अधिकारीहरुलाई टेलिफोन गरी सामुदायिक संस्था भएकाले प्राथमिकता दिएर बजेट निकासा गरिदिन आग्रह गरेका थिए ।
पछिल्ला वर्षहरुमा भरतपुर आँखा अस्पतालले राजधानी बाहिर उत्कृष्ट सेवा दिदै आएको छ ।