काठमाडौं । नेपालमा पहिलो पटक समलिङ्गी जोडीको विवाह दर्ता भएको छ ।
माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लुम्जुङ जिल्लाको सम्बन्धित सरकारी विभागले बुधबार औपचारिक रुपमा दर्ता गरेको हो । माया गुरुङ ३६ वर्ष र सुरेन्द्र पाण्डे २६ वर्षका छन्।
यो जोडीले आफ्नो विवाह दर्ता गराउन लामो कानुनी लडाइँ लड्नुपरेको थियो । पाँच महिनाअघि सर्वोच्च अदालतले अन्तरिम आदेशमा समलिङ्गी जोडीको विवाह दर्ता गर्न अनुमति दिएको थियो ।
माया र सुरेन्द्र झण्डै एक दशकदेखि सँगै बस्दै आएका छन् । यो जोडीले सन् २०१७ मा मन्दिरमा विवाह गरेका थिए र त्यसबेलादेखि नै आफ्नो विवाहलाई कानुनी मान्यता पाउन संघर्ष गरिरहेका थिए ।
माया गुरुङ एक ट्रान्सजेन्डर महिला हुन् जसले आधिकारिक कागजात अनुसार आफ्नो लिङ्ग परिवर्तन गरेकी छैनन्। सुरेन्द्र पाण्डे जन्मजात पुरुष हुन् ।
गत असार १३ गते काठमाडौंको जिल्ला अदालतले सर्वोच्च अदालतको आदेशको बाबजुद दम्पतीको विवाह दर्ता गर्न अस्वीकार गरेको थियो ।
सर्वोच्च अदालतले कानून परिमार्जन नभएसम्म यस्ता विवाह दर्ता गर्न नेपाल सरकारलाई आदेश दिएको थियो ।
जिल्ला अदालतले गुरुङ र पाण्डेको विवाह दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च अदालतले सरकारलाई निर्देशन मात्र दिएकाले तल्लो अदालतले मान्न बाध्य नहुने बताएको थियो ।
तर बुधबार दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले सर्वोच्च अदालतको आदेश र सम्बन्धित सरकारी विभागको निर्देशनबमोजिम दम्पतीलाई विवाह दर्ता प्रमाणपत्र जारी गरेको जानकारी दिए ।
नेपालका चर्चित अधिकारकर्मी सुनिलबाबु पन्तले यसलाई ऐतिहासिक निर्णय भनेका छन् ।








