चितवन असोज २८
नवरात्रको पहिलो दिन आज नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजा आराधना गरेर मनाइँदैछ। शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी भन्ने बुझिन्छ। हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो।
दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हो। दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल लिएर बसाहको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको जाज्वल्यमान स्वरूपको ध्यान मात्र गर्नाले पनि संकट टर्ने विश्वास गरिन्छ।
मार्कण्डेय पुराणकाअनुसार शैलपुत्री नवदुर्गामा पहिलो दुर्गा हुन्। शैलपुत्री देवीको पूजामा सेतो कपडा र सेतै फूल चढाउनुपर्ने उल्लेख छ। साथै कन्दमूल वा ऋतु फल चढाउनु भनिएको छ।
नवरात्रको अवधिमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कूष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। नवरात्रभर नवलपुर गैंडाकोटको मौलाकालिका , गोर्खाको मनकामना, बाग्लुङ्गको बाग्लुङ्ग कालिकालगायत देशका विभिन्न शक्तिपीठमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ।