माधव सापकोटा
असोज २७, भरतपुर
नवरात्रको अवसरमा लक्ष्मीवैकुण्ठनाथ मन्दिर भरतपुर-४, धर्मचोक लंकुमा विगतका वर्षहरूमा झैं यसपालि पनि असोज २८ देखि कार्तिक ६ गतेसम्म श्रीमद्वाल्मीकीय रामायण नवरात्र ज्ञान महायज्ञ २०८० हुने भएको छ।
महायज्ञमा मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यबाट रामायण कथावाचन एवम् मन्दिरद्वारा संचालित गुरुकुलका अध्यापक युवा विद्वान् वासुदेव पौडेल तथा छात्र- पुजारी श्रीधर लम्सालद्वारा पाठ / पारायण हुने मन्दिर संचालक समितिका सचिव भूमीश्वर सापकोटाले जानकारी दिनुभयो ।
महायज्ञमा दैनिकरूपमा बिहान ५ बजेदेखि ६ बजेसम्म सुप्रभात , स्वस्तिवाचन,बिहान ६ बजेदेखि ७ बजेसम्म प्रात: कालिक पूजा- अर्चना, बिहान ७ बजेदेखि ११ बजेसम्म पाठ /पारायण,दिउसो १:३० देखि ३:३० सम्म वाल्मीकि रामायण प्रवचन हुने आयोजकले जनाएको छ।
नौ दिनसम्म चल्ने समग्र कार्यक्रमा सहभागी भई पुण्यलाभ गर्न सम्पूर्ण सनातन धर्मानुरागी जनहरूमा मन्दिर संचालक समितिले आह्वान गरेको छ।