चितवन, असोज १६
चितवनमा सडकको काम जिम्मा लिएर काम नगर्ने चार वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चितवनमा काम नगर्ने चार सहित २० कम्पनीलाई कालोसूचीमा राखेको हो ।
विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी कालोसूचीमा राखिएको कार्यालयले आज प्रकाशित सूचीमा जानकारी दिएको छ ।
भरतपुर महानगरपालिका–१ को सशक्तशरण गोले अभिषेकको निर्माण कम्पनी अर्भन कन्स्ट्रक्सन, हेटौंडा–६ को निर्माण कम्पनी शिवालय बिल्डर्स दुई, माधव घिमिरे प्रमुख रहेको भरतपुर महानगरपालिका–१ को कष्यप निर्माण सेवा र सप्लायर्स, भरतपुर महानगरपालिका–११ मा रहेको हेमराज बस्यालको निर्माण कम्पनी, नागार्जुन शंकरमाली जेभी काठमाडौँ, नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालि र शंकरमाली निर्माण सेवा प्रालि कालोसूचीमा परेका छन् ।








