चनौली, १९ भदौ-
चनौलीमा डेङ्गी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवसको अवसरमा चनौली उपशाखाको आयोजनामा चनौली बजार सरसफाइ तथा डेङ्गी रोग सम्बन्धी सचेतना अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेरेसो जिल्ला शाखा चितवनका उप९ कोषाध्यक्ष चिज कुमार आलेले वर्षातको महिना सँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप बढ्ने हुँदा स्थानीयले आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, ड्रम, पुराना टायरमा पानी जम्न नदिन आग्रह गर्नुभयो ।
पछिल्लो समय चितवनमा डेङ्गीको सङ्क्रमण बढ्दै गएको छ। सङ्क्रमणको जोखिम बढेसङै स्थानीय सरकार, टोल विकास संस्था र सरोकार राख्ने निकायहरूको सक्रियता बढ्दै गएको छ । यो रोग घर वरिपरि बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाई बाट सर्ने गर्दछ । बिहान र साँझपख को समयमा यी लामखुट्टे बढी सक्रिय हुने हुँदा यो समयमा थप सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
विगत केही समय देखी जिल्लामा डेङ्गीका बिरामीको सङ्ख्या बढेको कारण आफ्नो घर र वरपरका स्थान सरसफाइमा विशेष ध्यान दिन नेरेसो चनौली शाखाका सभापति ओम प्रकाश लामिछानेले चनौली बासीमा अनुरोध गर्नुभएको छ । यो रोग अघिल्लो वर्षको तुलनामा अप्रत्याशित तरिकाले बढ्दै गएको हुँदा लामखुट्टेको वृद्धि विकास नियन्त्रण गर्न सबै जना लागी पर्नुपर्ने उहाँले बताउनुभयो ।
भिमनगर माविका विद्यार्थी, इलाका प्रहरी कार्यालय चनौलीका प्रहरी तथा रेडक्रसका सदस्यहरूको सहभागितामा चनौली बजार देखी भिमनगर मावि
सम्मका सडक छेउमा सरसफाइ गरिएको छ ।







