चितवन, भदौ ८
आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन अदालतबाट पुर्पक्षका लागि कारागार चलान आदेश भएपछि तत्काल विहोस भएका भएका व्यवसायी प्रदीप रुङ्गाटा अस्पताल चाहर्दै बसेका छन् ।
व्यवसायी एवम् नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष शङ्कर कँडेलको आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न भनेको छ । गत साउन १८ गते चितवन जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले उनलाई कारागार चलान गरेको थियो ।
अदालतको आदेश लगत्तै बिरामी भएका रूङ्टा तत्कालै भरतपुर अस्पतालमा भर्ना भएका थिए । उनी केही दिन उपचारपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको थियो । त्यसपछि उनलाई भरतपुर कारागार लगिएकोमा रात समेत नबिताई पुनः बिरामीको भएँ भन्दै चितवन मेडिकल कलेज पुगेर भर्ना भएका हुन् ।
रुङ्गाटा हाल चितवन मेडिकल कलेज (सिएमसी) मा उपचार गराइरहेका छन् । सिएमसीले रुङ्गाटालाई प्रेसरलगायतको समस्या देखिएको जनाएको छ ।
उच्च अदालतको थप आदेश आइनसकेकाले रुङ्गाटा जिल्ला अदालतले कारागारमा बस्ने आदेश गरे पनि बिरामी भएको भन्दै आदेश भएकै दिनबाट अस्पताल चाहर्दै हिँडेका हुन् ।
शङ्कर कँडेलको नाममा रहेको अनमोल फिड्स रुङ्गाटाले किनेका थिए । यही किनबेचको कारोबारमा रुङ्गाटाले आफूलाई अप्ठेरो पारेको भन्दै आत्महत्या गरेका थिए ।
वैशाख १९ गते आफ्नै कार्यकक्ष (अनमोल फिड्स)मा कँडेलले झुन्डिएर आत्महत्या गरेका थिए ।







